आरोहण गुरूकुल विराटनगरमा स्वागत छ

परिचय

Aarohan Gurukulआरोहण–गुरुकुल वि.सं. २०३८ सालदेखि निरन्तर कला, साहित्य तथा रंगमञ्‍चको क्षेत्रमा काम गरिरहेको संस्था हो । बन्द कोठा भित्र नाटक मञ्‍चनको अभ्यास, नाटक अन्तर्राष्ट्रिय गुणस्तरको तयार पार्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्‍चमा नेपाली नाटक मञ्‍चन गरी नेपालको प्रतिनिधित्व गराउने जस्ता महत्वपूर्ण कार्यहरू यस संस्थाले गर्दै आएको विदितै छ । आरोहणले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, इरान, नर्वे, डेनमार्क, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, स्विडेन, चीन, बेलायत, तथा अन्य राष्ट्रमा नेपालको प्रतिनिधित्व गर्दै धेरै पटक नाटक मञ्‍चन गरेको छ ।  यसका साथै आरोहणले विभिन्‍न समयमा साहित्यिक तथा साँस्कृतिक भेला गरी सोको बहुमूल्य अभिलेख समेत राखेको छ । आरोहणले ब्राजिलका अगस्तो बोयलले विश्व रंगमञ्‍चमा सुरुवात गरेको फोरम थिएटर को स्वरुपलाई नेपाली स्वरुप र ढाँचा अनुसार केही परिवर्तन र परिस्कृत गर्दै नेपालमा कचहरी नाटकको रुपमा मञ्‍चन सुरुवात गराउने संस्था पनि आरोहण नै हो । जुन स्वरुप अहिले नेपालमा सामाजिक, राजनीतिक समस्याका सम्बन्धमा आम नागरिकमा बहस सृजना गराउने प्रस्तुती कलाको उत्कृष्ट र बहुचर्चित रुपमा स्थापित भएको छ ।

देशमा भएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तनका आरोह-अवरोहमा कला तथा साहित्यको माध्यमले आम नागरिकमा सचेतना फैलाउने र राष्ट्रिय अखण्डता, स्वाभिमानका लागि काम गर्दै आएको संस्था हो आरोहण । समय-समयमा गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्य तथा नाटक महोत्सव, सम्मेलनका क्रममा पुस्तक लेखन तथा प्रकाशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा स्थापित कलाकारहरुद्वारा सोही कार्यक्रमका क्रममा बनाईएको चित्र प्रदर्शनी, गीत सङ्गीतको निर्माण र प्रकाशन समेत आरोहणले गरेको छ ।

आरोहणले विभिन्‍न समयमा भएका निर्वाचनताका निर्वाचन आयोग नेपालसँगको साझेदारीमा नाटकको माध्यमबाट देशका कुना-काप्चामा पुगी मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । यस बाहेक युएन, युएनडीपी, एसिया फाउण्डेसन, एनएस नेपाल, आइएफईएस, नर्वेजियन कल्चरल फण्ड, भारतीय दुतावाससँगको साझेदारीमा विभिन्‍न समयमा देशका सामाजिक समस्या समाधानको पहल स्वरुप सचेतना फैलाउने लगायतका काम गरेको छ ।

साहित्यको विविध विधामध्ये उत्कृष्ट विधा नाटक अन्तर्राष्ट्रियस्तरको तयार पार्ने, अन्तर्राष्ट्रिय रंगमञ्‍चमा नेपालको प्रतिनिधित्व गर्दै दर्जनौँ पटक नाटक मञ्‍चन गर्ने, देशका विविध विशेषता नाटकमा समावेश गर्ने, गुरुकुल सञ्चालन गरी कलाकारहरुलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक शिक्षा दिने, टिकट काटेर नाटक हेर्ने वातावरण निर्माण गर्ने, नाटकमा अभिनय गरेबापत कलाकारलाई पारिश्रमिक दिँदै नाट्य क्षेत्रमा आबद्ध हुन नयाँ पुस्तालाई आकर्षित गर्ने काम आरोहणले गरेको छ । यसको प्रतिफल स्वरुप आरोहणका विद्यार्थीहरुले अहिले देशका विभिन्‍न स्थानमा नाटकघर निर्माण गरी गुणस्तरिय नाटक मञ्‍चन गर्ने र नाटक विधालाई व्यवसायिक बनाउँदै लगेका छन ।

आरोहणले आफ्नै नाटकघरमा १०० वटा भन्दा धेरै नाटक मञ्‍चन गरेको छ भने ५०० वटा भन्दा धेरै नाटक हजारौँ पटक प्रदर्शन गरेको छ ।

आरोहणले सन् २००८, २०१० र २०१२ मा गरी ३ पटक काठमाण्डौमा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरी सफलतापूर्वक सम्पन्‍न गरिसकेको छ । यस्तै १० वटा भन्दा धेरै राष्ट्रिय नाटक महोत्सव समेत सफलतापूर्वक सम्पन्‍न गरेको छ ।

आरोहण, विराटनगर

आरोहणले देशका विभिन्‍न स्थानमा नाटकघर सञ्चालन गर्ने उद्धेश्य बनाएअनुरुप पहिलो पटक विराटनगरमा आरोहणको शाखाको रुपमा आरोहण, विराटनगर स्थापना भयो । रंगमञ्‍चको विकासमा केहि वर्ष अघिबाट योगदान पुर्‍याउँदै आएको विराटनगरमा नर्वेजियन साँस्कृतिक कोषबाट आरोहण, विराटनगर मातहतमा रहने गरी सुशीला कोइराला नाटकघर निर्माण गरी पूर्वमा रंगमञ्‍चको यात्रालाई गति दिने काम आरोहण, विराटनगरबाट भयो । यहाँ रहेको नाटकघर नेपालकै सुविधासम्पन्‍न नाटकघर हो । आरोहण, विराटनगरमा दर्जनौँ नाटक मञ्‍चन, सडक नाटक तथा कचहरी नाटक प्रदर्शन, समय-समयमा साहित्यिक सम्मेलन तथा कला प्रदर्शनी, साँस्कृतिक प्रदर्शनी तथा अभिलेख राख्ने काम गरेको छ । यसरी आरोहण, विराटनगर प्रदेश नं. १ को साँस्कृतिक तथा साहित्यिक केन्द्रको रुपमा स्थापित हुँदैछ । यसबाहेक पूर्वाञ्चल नाटक महोत्सवको आयोजना गरी नाट्य गतिविधिलाई निरन्तरता दिँदै दर्शकहरू समक्ष विभिन्‍न क्षेत्रमा नाटकको स्वाद समेत पस्कँदै आएको छ । पछिल्लो समय भारत सरकारको सहयोगमा अत्याधुनिक तथा सुविधासम्पन्‍न ४०० जना दर्शक क्षमताको नयाँ नाटकघर निर्माण भइरहेको छ ।

0 comments on “आरोहण गुरूकुल विराटनगरमा स्वागत छ

Comments are closed.