प्रेस वक्तव्य

प्रेस वक्तव्य

प्रेस वक्तव्यमहामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालको रंगमञ्चलाई पनि प्रत्यक्ष असर गरी आरोहण, विराटनगरसहित नेपालभरका नाट्य संस्थाहरु झण्डै एक वर्षदेखि बन्दप्रायः रहे । जसले गर्दा बल्लतल्ल वामे सर्दै गरेको नेपाली रंगमञ्च क्षेत्र धराशायी हुन पुग्यो, र यसको मारमा नाट्य कलाकार, प्राविधिक तथा संस्थालगायत सम्बद्ध सबै परे ।
हाल, परिस्थिति केही सहज देखिई हाट–बजार, उद्योग–व्यवसाय, सार्वजनिक यातायात, शैक्षिक संस्था, चलचित्र घर लगायत प्रायःजसो सार्वजनिक क्षेत्रहरु खुलिसकेको अवस्था छ । अतः नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हामीले पनि आफ्नो नियमित गतिविधिहरु सञ्चालन गर्नु अपरिहार्य छ । यस वस्तुस्थितिलाई आत्मसाथ गर्दै “हामी सँगसँगै अभियान” मार्फत २०७७ माघ १ गतेदेखि ऐक्यवद्ध भएर देशभरका नाटकघरहरु खुल्ला भएका-भइरहेका छन् । यस अभियानमा ऐक्यबद्धता जनाउँदै नेपालका अन्य नाटकघरहरुसँगै आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघर पनि आज (२०७७ माघ ५ गते) बाट खुल्ला भएको घोषणा गर्दछौँ । अब हाम्रा नियमित गतिविधिहरु सुचारु हुने जानकारी गराउँदै सहयोग र सद्भावका लागि सबैसँग हार्दिक अनुरोध गर्दछौँ ।

परिचय

Aarohan Gurukulआरोहण–गुरुकुल वि.सं. २०३८ सालदेखि निरन्तर कला, साहित्य तथा रंगमञ्‍चको क्षेत्रमा काम गरिरहेको संस्था हो । बन्द कोठा भित्र नाटक मञ्‍चनको अभ्यास, नाटक अन्तर्राष्ट्रिय गुणस्तरको तयार पार्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्‍चमा नेपाली नाटक मञ्‍चन गरी नेपालको प्रतिनिधित्व गराउने जस्ता महत्वपूर्ण कार्यहरू यस संस्थाले गर्दै आएको विदितै छ । आरोहणले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, इरान, नर्वे, डेनमार्क, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, स्विडेन, चीन, बेलायत, तथा अन्य राष्ट्रमा नेपालको प्रतिनिधित्व गर्दै धेरै पटक नाटक मञ्‍चन गरेको छ ।  यसका साथै आरोहणले विभिन्‍न समयमा साहित्यिक तथा साँस्कृतिक भेला गरी सोको बहुमूल्य अभिलेख समेत राखेको छ । आरोहणले ब्राजिलका अगस्तो बोयलले विश्व रंगमञ्‍चमा सुरुवात गरेको फोरम थिएटर को स्वरुपलाई नेपाली स्वरुप र ढाँचा अनुसार केही परिवर्तन र परिस्कृत गर्दै नेपालमा कचहरी नाटकको रुपमा मञ्‍चन सुरुवात गराउने संस्था पनि आरोहण नै हो । जुन स्वरुप अहिले नेपालमा सामाजिक, राजनीतिक समस्याका सम्बन्धमा आम नागरिकमा बहस सृजना गराउने प्रस्तुती कलाको उत्कृष्ट र बहुचर्चित रुपमा स्थापित भएको छ ।Read More

आरोहण गुरूकुल विराटनगरमा स्वागत छ