चौथो अनुक्रम – कवि मोमिला जोशी

कवि मोमिला (मोमिला जोशी)

कवि परिचय

कवि मोमिला

कवि मोमिला (मोमिला जोशी) को जन्म वि.सं. २०२४ सालमा धनकुटाको हुलाकटोलमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (महिलामध्ये प्रथम श्रेणीमा प्रथम) गर्नुभएकी मोमिला गोल्डेनगेट इन्टरनेसनल कलेज, काठमाण्डौमा असोसिएट प्रोफेसरको रुपमा प्राध्यपन पेशामा संलग्न हुनुहुन्छ । वहाँ नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकी अध्यक्ष र साहित्यिक पत्रकार संघको आजीवन सदस्य तथा कालचक्र नेपालको संस्थापक सदस्य लगायत समेत हुनुहुन्छ ।
वि.सं. २०३३ सालदेखि कवितामार्फत लेखन प्रारम्भ गर्नुभएकी मोमिला ‘रुपरेखा’मा २०४४ सालमा ‘प्रतिक्षा फेरि चिताको’ शीर्षक कविता प्रकाशित भएपछि अनवरत साहित्यिक क्षेत्रमा क्रियाशील एक सशक्त प्रतिभा हुनुहुन्छ । कविताबाहेक निबन्ध, समालोचना लगायत अन्य विधामा समेत कलम चलाउन दख्खल राख्नुहुने वहाँ आफूलाई ‘हजार पीडाहरूलाई माया गर्दै जीवनको वक्ररेखामा आफ्नो अस्तित्व खोजिरहेको एक आउटसाइडर’ भन्‍नुहुन्छ ।
कवि मोमिलाका पैयुँ फुल्न थालेपछि (कवितासङ्ग्रह–२०५२), नीलो–नीलो आकाश र दुई थोपा आँसु (निबन्ध/कवितासङ्ग्रह–२०५३), जूनकीरीहरू ओर्लिरहेछन् (कवितासङ्ग्रह–२०५५), दुर्गम उचाइमा फूलको आँधी (कवितासङ्ग्रह–२०६०), ईश्वरको अदालतमा आउटसाइडरको बयान (निबन्धसङ्ग्रह–२०६३), भीमसेन थापाको सुसाइड नोट (कवितासङ्ग्रह–२०७०) र अङ्ग्रजी संस्करणमा An Outsider in the Court of God (A Collection of Lyrical Essays–2011), Selected Poems (A Collection of Poems–2013) कृतिहरु प्रकाशित छन् । साथै, वहाँले सगरमाथाको नृत्यमग्न आत्मा (प्रतिनिधि आधुनिक नेपाली कविता), Dancing Soul of Mount Everst (Selected Modern Nepali Poems), कलाश्री (साहित्य वार्षिक), भारत शाश्वत आवाज (कन्‍नड भाषाका कविता सङ्ग्रह), चीन शाश्वत आावाज (चिनियाँ भाषाका कविता सङ्ग्रह) लगायत एक दर्जनभन्दा बढि विभिन्‍न साहित्यिक पुस्तक / पत्रिका / वेबजिनहरु सम्पादन गर्नुभएको छ ।
कवि मोमिला पद्मकन्या स्वर्ण पदक, प्रज्ञा पदक, शताब्दी युवा सम्मान, युवा वर्ष मोती पुरस्कार, देवकोटा शताब्दी काव्य पुरस्कार, भूपी स्मृति सम्मान, नारी सम्मान, व्यथित वनिता काव्य पुरस्कार, शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार लगायत दर्जनौँ साहित्यिक सम्मान तथा पुरस्कारद्वारा विभूषित हुनुहुन्छ ।

भन्‍नलाई त उत्सवजस्तै छन्, कवयित्री तथा साहित्यकार र निबन्धकार मोमिलाका सृजनाहरु । कहिले दूरन्तदेखिन् मनको स्मृतिबाट र अनुभव र अनुभूतिबाट मिथक मानिस सिसिफस्जस्तै जीव अवतरित हुन्छ, अवतारजस्तै । प्रयत्नकै पराकाष्ठा हो प्रतीक, हो तर आफैले बुनेका अनेकौँ अनुभूति र अभिव्यक्ति सञ्जालले बाँध्छ हामी सबैलाई, हाम्रो चेतना र मानसलाई मोमिलाका कथ्यहरुले र त्यहीँ भुमरी घुम्छ, त्यहीँ माथि उठ्छ भुमरीको धरातल, अत्यन्त उत्तर–सोचले पनि । यदि शास्त्रीय भन्‍ने हो भने उत्तर–शास्त्रीय हो, यदि वर्तमानको र समकालिक हो भने झन् उत्तर–समकालिक संरचनाको बिम्ब अनि बिम्ब नै बिम्बहरुको खातै खात कि अवलीहरुको अनेकौँ धरातल बुन्छ, स्रष्टाको कविमनले । त्यहीँ विनिर्माणको र विघटनको विशदता र त्यहीँ निर्माण र सङ्घटनको महत्ता, अघि भनेजस्तै भुमरी लिएर कहिले विचार र विचारमात्रै, कहिले दृष्टि र दर्शनमात्रै, कहिले प्रेम र पीडामात्रै र कहिले जिन्दगी र जिन्दगीमात्रैको अभूतपूर्व प्रभावको उत्सव–यात्रा सम्प्रेषित भइरहन्छ हामीमा; मोमिलाका रचनाहरुले, एकजना अद्वितीय र अतूलनीय स्रष्टाका अभिलेखहरुले ।
– ईश्वरवल्लभ (साभार : ईश्वरको अदालतमा आउटसाइडरको बयान)

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “चौथो अनुक्रम – कवि मोमिला जोशी

Comments are closed.