तेस्रो अनुक्रम – कवि बम देवान

कवि बम देवान

कवि परिचय

कवि बम देवान

वरिष्ठ कवि बम देवानको जन्म माता अर्जमाया देवान र पिता तुलाराम राई (देवान)को सुपुत्रका रुपमा वि.सं. २००३ साल मङ्सिर १५ गते सङ्खुवासभाको आँखीभूइँमा भएको हो । त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०२९ सालमा स्नातक गर्नुभएपछि देवान अध्यापन पेशामा संलग्न रहनुभयो । सक्रिय राजनीतिमा लाग्नुभई केही समयको अध्यापनपछि वहाँ वि.सं. २०४३ देखि २०४६ सालसम्म धरान नगर पञ्चायतको प्रधानपञ्च हुनुभयो । हाल वहाँ धरानको अमरहाटमा बसोबास गरी साहित्यसिर्जना तथा समाजसेवामा सक्रिय रहनुभएको छ ।

वि.सं. २०२१ सालदेखि लेखन थालनी गर्नुभएका बम देवानले साहित्यमा बिम्बको प्रयोग गरेर प्रगतिशील, माक्र्सवादी, जनवादी साहित्यलाई जीवन्तता दिनुभएको छ । पञ्चायतकालमा दर्शन राईको नामले साहित्यसिर्जना गर्नुहुने वहाँ राजनीति र साहित्यलाई सँगै हिँडाउने वामविचारकका रुपमा परिचित हुनुहुन्छ । कविताबाहेक गीत र कथा लेखनमा सक्रिय रहनुभएका देवान ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर..’ बोलको चर्चित गीतका रचनाकार हुनुहुन्छ । वहाँ कवितामा निम्नवर्ग, अशिक्षित, श्रमजीवि बहुसंख्यक जनताको दुःख, आवाज, सपना र चाहनालाई उतार्न विशेष दख्खल राख्ने कविका रुपमा चिनिनु हुन्छ ।

कवि देवानका हाम्रो गीत, हाम्रो आवाज कवितासङ्ग्रह (२०२९, दर्शन राईको नामबाट) र आगाको खेती कवितासङ्ग्रह (२०७२) प्रकाशित छन् । वहाँका अन्य केही कृतिहरु प्रकाशोन्मुख रहेका छन् ।

कवि बम देवान महानन्द पुरस्कार, डा. स्वामीप्रपन्‍नाचार्य चतुर्भुज पुरस्कार, कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार तथा किरात याक्खा वर्ष सम्मान लगायत विभिन्‍न सम्मान तथा पुरस्कारबाट विभूषित हुनुहुन्छ ।

बम देवानका कविताहरु प्रकृति र मानिसलाई उचालेर वर्गीय धरातलमाउभिएका छन् । मुलुकमा सर्वव्यापी विकृति, विसङ्गति, शोषण, अन्याय, अत्याचार, आडम्बर र पाखण्ड्याइँको विरुद्धमा न्यायपूर्ण सङ्घर्षको पक्षमा बोलेका छन् । मुलुकमा जतिसुकै ठूलठूला राजनैतिक, आर्थिक र सामाजिक परिवर्तन भएको र नयाँ कार्यदिशाको थालनी भएको नारा लागे पनि देशका जनताहरु पीडित, शोषित र दमित नै छन् । त्यसैले स्वतन्त्रता र मुक्तिको अभियान उत्तिकै आवश्यक छ भन्‍ने सन्देश यी (कवि देवानका) कविताहरुमा पाउँछौँ ।
– अशोक राई/सुदर्शन श्रेष्ठ/गङ्गारामकुलुङ
(आगाको खेती कवितासङ्ग्रहको प्रकाशकीयबाट साभार)

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “तेस्रो अनुक्रम – कवि बम देवान

Comments are closed.