दोस्रो अनुक्रम – कवि तुलसी दिवस

तुलसी दिवस

कवि परिचय

तुलसी दिवस

वरिष्ठ कवि तुलसी दिवस (तुलसीप्रसाद जोशी) को जन्म वि.सं. १९९८ साल असार २१ गते धनकुटाको ठाडो बजारमा माता चण्डिकादेवी तथा पिता महाप्रसाद जोशीका सुपुत्रका रूपमा भएको हो। प्रारम्भिक अध्ययन धनकुटामा गर्नुभई त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएका दिवसले अमेरिका, जापान लगायतका मुलुकमा रहेका विभिन्‍न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गर्नुभएको छ। वहाँले नेपालका विभिन्‍न विश्वविद्यालय तथा क्याम्पसमा नेपाली भाषा तथा साहित्य प्राध्यापन गर्नुभएको छ भने विभिन्‍न मुलुकमा विभिन्‍न पदमा रही भाषातथा संस्कृतिका क्षेत्रमाकार्य गर्नुभएको छ। वहाँ नेपाली लोकवार्ता तथा संस्कृति समाजको अध्यक्षरहनु भएको छ ।

कवितालाई वाचनको माध्यमद्वारा अझ स्पस्टसँगले बुझाउन सकिन्छ भन्‍ने मतको हिमायती तुलसी दिवस कवितालाई सुन्दर र सरल भाषामा, प्रभावकारी र मीठो शैलीका साथै कवितात्मक हाउभाउका साथ स्पष्टरूपमा वाचन गर्ने विशिष्ट खुबी भएका कवि मानिनुहुन्छ । नेपाली साहित्यको भाषालाई लोक भाषासँग जोड्न वहाँले दिनुभएको योगदानलाई महत्वपूर्ण मानिँदै आएको छ ।

कवि दिवसको कविता सङ्ग्रह तुलसी दिवसका कविता  शीर्षकमा २०४० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको छ भने सोको हिन्दी अनुवाद तुलसी दिवसकी कविताएँ  शीर्षकमा सन् १९९७ मा भारतको नयाँ दिल्लीबाट प्रकाशित रहेको छ । कविताबाहेक वहाँले संस्कृति र लोक सङ्गीत विषयमा दर्जनजति पुस्तक लेख्नुका साथै विभिन्‍न लोकगीतहरू सङ्कलनगर्नुभएकोछ ।

कवि तुलसी दिवस सबैभन्दा सानो उमेरमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान (हाल नेपाल प्रज्ञा प्रतिष्ठान) को प्राज्ञ बन्‍ने व्यक्ति हुनुहुन्छ। वहाँ सुप्रवल गोर्खाबाहू, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार, लीलध्वज थापा साहित्य सम्मान लगायत साहित्य, संस्कृति र सङ्गीतको क्षेत्रका विभिन्‍न पुरस्कार तथा सम्मानद्वारा विभूषित हुनुहुन्छ।

उनी (तुलसी दिवस ) जहाँ अन्धकार छ, त्यहीँ पसेर प्रकाशको खोजी गर्न सक्छन्। मानवभित्रको चिरन्तन प्रकाशको चाहनाको निम्ति जन्मनासाथ सूर्य टिप्न जाने हनुमान, स्वर्गको आगो चोर्ने प्रमिथियस र ग्रहताराबाट नयाँ आलोक ल्याउन उड्ने प्रथम स्पुतनिकलाई प्रतीक बनाउँछन् र मनुष्यका टाउका-टाउकामा कुद्दै आगो सल्काउँदै हनुमानले सीतालाई झैँ मानवतालाई पत्ता लगाउँछन्। उनी जतिसुकै विकृतिमा पनि मानवभित्र मानवताको मंगलबीज सड्दैन भन्‍ने विश्वास गर्छन् र त्यस विकृतिलाई बाढी हालेर बगाउनुसट्टा घामपानी वर्षाएर फूल उमार्न चाहन्छन्। उनी खण्डित मानवतानेर कुनियूँमा डढेको गोलसिमल चरीनेर झैँ बसेर विलाप गर्दैनन्, बरु त्यो भुङ्ग्रे खरानी खोस्रेर त्यसभित्र अझै पनि नउडेको मुटुको टुक्रालाई लिएर त्यसैबाट नयाँ गोलसिमलको सिर्जन गर्छन्। चिन्तन उनका कविताको योजना हो भने, सहजता हृदय हो।
– राष्ट्रकवि माधवप्रसाद घिमिरे

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “दोस्रो अनुक्रम – कवि तुलसी दिवस

Comments are closed.